प्रभाकर शमशेरले पत्याएपछि व्यवस्थापन सम्हालेका केशवमान सिंह, जो तीन दशकदेखि निक्कीका मियो छन्


Image

सन् १९९६ मा नेपाल-भारत वाणिज्य सन्धि हुँदै थियो। यसक्रममा व्यावसायिक वृत्तबाट निकै दौडधुप गरिरहेका प्रभाकर शमशेर राणालाई त्यसबेला आफू संस्थापक अध्यक्ष रहेको नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की)का लागि कार्यकारी व्यवस्थापकको खाँचो उत्तिकै थियो।

 

दुई देशबीच हुन गैरहेको महत्वपूर्ण सन्धिको पूर्वसन्ध्यामा निक्कीको भूमिका महत्त्वपूर्ण हुने नै भयो। त्यसमाथि निक्कीको व्यवस्थापकीय काम सम्हाल्ने 'चित्तबुझ्दो' मानिस नभेट्नुले प्रभाकर शमशेर दबाबमा थिए। निक्कीले सो पदका लागि आवेदन पनि खुलाएको थियो। तर, दरखास्त दिएका करिब ९० जनामध्ये कसैसँग पनि प्रभाकर शमशेरले चित्त बुझाइरहेका थिएनन्। खै के-के मिलिरहेको थिएन कुन्नि ! नौ महिनाको खोजीमा पनि निक्कीका लागि उनले उपयुक्त पात्र भेटिरहेका थिएनन्।

सन् १९९६ को मे महिनामा भने निक्कीको कार्यकारी व्यवस्थापकका रुपमा नियुक्त भए केशवमान सिंह। उनी पहिलो भेटमै निक्कीका तत्कालीन अध्यक्ष प्रभाकर शमशेर राणाको रोजाइमा परेका थिए।

 

निक्कीमा प्रवेश गर्नु अघि ११ वर्ष नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको वित्त व्यवस्थापन सम्हालेका केशवमान प्रभाकर शमशेरलाई भेट्न सोल्टी होटल पुगे। त्यहाँ उनीसँग प्रभाकर शमशेरले केही छोटा प्रश्नहरु सोधे। अनि दोस्रो दिनदेखि उनले नेपाल उद्योग वाणिज्य महासंघको भवनभित्र रहेको एउटा कोठाबाट निक्कीको प्रशासन सम्हाले।

 

आज २९ वर्षपछि निक्कीको नारायणचौरस्थित कार्यालयमा बसेर उनी नियुक्तिको पहिलो दिन सम्झिरहेछन्। 'शून्यबाट सुरु गरेको हुँ मैले यो संस्था। कार्यालयका नाममा केही थान रजिस्ट्रेसन र मेम्बरसीप फर्मबाहेक मसँग एउटा कलममात्र थियो। तीन-चार दिन प्रभाकर राणासँग बसेर सबै कुराहरु म्यानेज गरेँ। म एकजनाबाट विस्तारै समूह बन्यो। सन्तान जसरी नै हुर्काएको हुँ। सन्तान जस्तै माया लाग्छ निक्कीको,' उनी केहीबेर भावुक बने।

 

३० वर्ष पुरानो निक्कीमा उनले सुरुवातदेखि हालसम्मका सबै अध्यक्षहरुसँग काम गरिसकेका छन्। संस्थापक अध्यक्ष प्रभाकर शमशेर राणापछिका अध्यक्षहरु रुक्म शमशेर राणा, अरुणकुमार चौधरी, संजीव केशव, शशीराज पाण्डे, शौर्य राणा, सिर्जना राणा र हाल सुनिल केसीको कार्यकालमा पनि उनै हुन् जो निक्कीको सम्पूर्ण व्यवस्थापन सम्हालिरहेका छन्। यतिका वर्षसम्म एउटै संस्थाको व्यवस्थापकीय नेतृत्व लिएर काम गरिरहेका केशवलाई सबैले उनका दुई खुबीका कारण नै आँखा चिम्लेर विश्वास गर्छन्। कामप्रति इमान्दारिता अनि उनको नैतिक मूल्यका कारण उनी सबैको विश्वासयोग्य बन्न सकेका हुन्।

 

It was originally published on bizmandu.

Read full new on bizmandu.com

#BestBiNationalChamber Awarded by FNCCI